ताजा खबर
काठमाडौं । लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पहिलो सिजन बिहीबार राति सम्पन्न हुँदैछ। अन्तिम अर्थात् २० औं एपिसोड राति ९ बजे हिमालय टिभीमार्फत प्रसारण हुनेछ।
करिब १० हप्ताअघि सुरु भएको यो कार्यक्रमले उद्यमशिलता र नवप्रवर्तनको आइडियालाई प्रोत्साहन गर्दै पहिलो सिजनमै ठूलो सफलता हासिल गरेको छ। विभिन्न उद्यमीले प्रस्तुत गरेका आइडियामार्फत शोले झण्डै ४० करोड रुपैयाँको लगानी जुटाउन सफल भएको छ।
आठौं सातासम्म मात्रै ३५ करोड १२ लाख रुपैयाँको डिल भइसकेको थियो। सिजनको सबैभन्दा ठूलो डिल वेद एप ले पाएको हो, जसले २० प्रतिशत इक्विटी र केपीआईमा ६ करोड रुपैयाँको लगानी आकर्षित गर्न सफल भयो। यो डिल शार्क हेमराज ढकालले गरेका थिए। त्यस्तै, सबैभन्दा सानो डिल विहे नेपाल एप ले पायो, जसले १ प्रतिशत इक्विटीमा १ हजार रुपैयाँको लगानी मात्र प्राप्त गर्यो।
यसबीच, शोमा गरिएको वचनअनुसार शार्क तथा अग्नि ग्रुपका प्रमुख क्याबिनेट श्रेष्ठले कास्कीको अन्नपूर्ण–३ स्थित मारम्चे अर्गानिक कृषि फार्म का बलराम पौडेललाई महिन्द्राको बोलेरो पिकअप भ्यान हस्तान्तरण गरेका छन्।
हिमालय टिभीले दोस्रो सिजनका लागि आवेदन खुला भएको र चाँडै अडिसन प्रक्रिया सुरु हुने जनाएको छ। यससँगै, हालैबाट ‘हिमालय रोडिज’ को सातौं सिजनको प्रसारण पनि सुरु भइसकेको छ।
Super Admin
>