ताजा खबर
चितवन — चितवनमा पछिल्लो समय बढ्दो गर्मीसँगै पूर्वी र पश्चिमी क्षेत्रका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्यापछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आइतबार चितवन पुगेका छन्।
शनिबार प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौतीसम्बन्धी सूचना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा ‘लोडसेडिङ सुरु’ भन्ने आलोचना चर्किएपछि शाक्य स्वयं अवस्था बुझ्न भरतपुर आएका हुन्। उनका सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्यले भरतपुरमा प्रारम्भिक जानकारी लिएर राप्ती नगरपालिका–११ स्थित हर्दी सबस्टेशनको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
हर्दीमा हालै २४ एमभीएको नयाँ ट्रान्सफर्मर जडान गरिसकिएको छ र आइतबार राति परीक्षण समेत सफल भएको छ। सबस्टेशनका इन्चार्ज रोशन खनियाँका अनुसार केही प्राविधिक परीक्षणपछि लाइन सिधै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
यो ट्रान्सफर्मरबाट टाँडी, खैरहनी र राप्ती क्षेत्रलाई सिधै सप्लाई दिने व्यवस्था मिलाइँदैछ। यसरी हर्दीबाट पूर्वी चितवनमा विद्युत आपूर्ति हुन थालेपछि भरतपुर हुँदै टाँडी र पर्सा पठाइँदै आएको लोड घट्नेछ। खनियाँका अनुसार यसले पश्चिम चितवनको देवनगर, जगतपुर हुँदै माडी क्षेत्रको आपूर्ति सुधार गर्नेछ।
हाल देवनगरबाट टाँडी र पर्सा क्षेत्रमा विद्युत पठाइँदै आइरहेको छ। तर, मागअनुसार आपूर्ति नहुँदा टाँडी र माडीका स्टेशनमा स्थानीयले विरोध जनाइरहेका छन्।
प्राधिकरणले चितवनको विद्यमान विद्युत आपूर्ति समस्या मंगलबारसम्म पूर्णरूपमा समाधान हुने विश्वास दिलाएको छ। हाल देखिएको अस्थायी समस्या समाधानपछि स्थायी रुपमा भरपर्दो आपूर्तिका लागि पूर्वाधार स्तरोन्नति तीव्र पारिएको जनाइएको छ।
Super Admin
>