ताजा खबर
काठमाडौं — साउनको दोस्रो सोमबारको अवसरमा ‘बोल बम’ यात्रा गर्न सयौं होइन, हजारौं भक्तजन सुन्दरीजलमा जुटेका छन्। बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालको आयोजनामा भएको आजको बोल बम यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ।
साउन महिनाको सोमबार विशेष धार्मिक महत्व राख्ने भएकाले भक्तजनहरू वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा स्नान गरी शुद्ध भेषमा 'बोल बम' भन्दै पैदल यात्रा गर्दै पशुपतिनाथ मन्दिर पुग्ने परम्परा रहिआएको छ।
आज बिहानैदेखि भक्तजनहरूको चाप बढेपछि पशुपति क्षेत्र विकास कोषले व्यवस्थापनलाई प्राथमिकता दिएको छ। कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीका अनुसार सोमबार विशेष भीड हुने भएकाले पशुपतिनाथ मन्दिरका चारैवटा मूल ढोका बिहान ३ बजेदेखि नै भक्तजनका लागि खुला गरिएको हो।
वर्षेनी झैं यसपालि पनि युवादेखि वृद्धासम्मका भक्तजन हरियो वस्त्रमा सजिएर, काँधमा काँवर बोकेर बोल बमको नारा लगाउँदै भक्तिभावपूर्वक यात्रा गर्दैछन्। यस यात्रालाई व्यवस्थापन गर्न सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ।
साउनको सोमबारमा यस्तो धार्मिक उल्लास काठमाडौं उपत्यकासहित देशका अन्य भागमा समेत व्यापक रुपमा मनाइँदैछ।
Super Admin
>