ताजा खबर
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्दैछन्। यसपटकको भ्रमणलाई कूटनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको छ, किनभने उनले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ। चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहितको यस भ्रमणमा अन्य मुलुकका नेतासँग पनि साइडलाइन वार्ता हुने अपेक्षा गरिएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने/नहुने प्रश्न भने अझै अनिश्चित बनेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय पक्षले व्यस्त तालिका देखाउँदै टुङ्गो लगाउन ढिलाइ गरिरहेको छ। तर चीन पुगेपछि आकस्मिक रूपमा भेटवार्ता तय हुनसक्ने सम्भावना कायम छ। यसअघि पनि अमेरिका र थाइल्याण्ड भ्रमणका क्रममा ओली र मोदीबीच औपचारिक कार्यक्रम नभए पनि अन्ततः आकस्मिक भेटघाट भएको थियो। मन्त्रालय स्रोतका अनुसार यसपटक भेटवार्ताको सम्भावना करिब १० प्रतिशत मात्र देखिएको छ।
ओलीको भ्रमणमा चीनसँगै रुस, भियतनाम, माल्दिभ्स, लाओस र कम्बोडियाका राष्ट्रप्रमुख वा सरकार प्रमुखसँग भेट्ने तयारी भइसकेको छ। अरूसँग पनि तालिका मिलाउने प्रक्रिया जारी छ।
प्रधानमन्त्री ओली चीन जाने मुख्य कारण भने तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलन हो। सम्मेलनमा सहभागी भइसकेपछि उनी भदौ १७ गते रेलमार्ग हुँदै बेइजिङ पुग्नेछन् र त्यहाँ जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासीवादविरुद्धको युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका भव्य कार्यक्रममा सहभागी हुनेछन्।
भ्रमण सकिएलगत्तै ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ।
Super Admin
>