ताजा खबर
काठमाडौं — वसन्तपुर दरबार स्क्वायरमा आजदेखि परम्परागत रूपमा इन्द्रजात्रा सुरु भएको छ। हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो। भाद्र शुक्ल द्वादशीको दिन लिङ्गो ठडाएर जात्रा सुरु गर्ने प्रचलन छ।
जात्राभरि विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने परम्परा रहेको छ। दरबार स्क्वायर परिसरका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिरजस्ता सम्पदामा रङरोगन गरी रातो ध्वजा फेरिएको छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ र यसलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ।
इन्द्रजात्रा शत्रु पराजयपछि विजयको उत्सवका रूपमा मनाउने पर्व हो। यस दिन इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर विभिन्न सांस्कृतिक र धार्मिक प्रदर्शन गरिन्छ। जात्रामा राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने परम्परा छ।
जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाच तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच प्रदर्शन गरिन्छ। आठौं दिन अर्थात् आश्विन कृष्ण चौथीमा ‘इन्द्रध्वज पातन’ गरेर जात्राको समापन गरिन्छ।
नेवारी समुदायले मनाउने यस पर्वलाई काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा समेत धुमधामका साथ मनाइन्छ। यसले सांस्कृतिक सम्पदा जोगाउने र परम्परागत रीतिथितिलाई जीवित राख्ने महत्वपूर्ण भूमिका खेल्दछ।
Super Admin
>