ताजा खबर
३१ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शन हिंसात्मक बन्दा काठमाडौंमा मात्र एक हजारभन्दा बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
विभिन्न सरकारी निकायबाट संकलित विवरण अनुसार अहिलेसम्म ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अधिकारीहरूले दुईपांग्रेमा भएको आगजनी संख्या ‘नगण्य छैन, तर उल्लेखनीय पनि होइन’ भन्दै अझै विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन्।
कुन–कुन निकायका गाडी जले ?
सरकारी मुखपत्र गोरखापत्र दैनिक मा प्रकाशित विवरणअनुसार सबैभन्दा बढी सडक विभागका ६५ वटा चारपांग्रे गाडी जलेका छन्। त्यसपछि सर्वोच्च अदालतका ५१, सहरी विकास तथा भवन निर्माण विभागका ५०, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७, अर्थ मन्त्रालयका ३६ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा गाडीमा आगजनी भएको छ।
यस्तै शिक्षा मन्त्रालयका २६, गृह मन्त्रालयका २५, स्वास्थ्य मन्त्रालयका २२, युवा तथा खेलकुद मन्त्रालयका १९, संघीय संसद सचिवालयका १८, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८, वन तथा वातावरण मन्त्रालयका १७ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन्।
आन्दोलनपछि बढेको असुरक्षा
भदौ २३ गते जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकारी गाडीहरू सडकमा असुरक्षित हुने भन्दै कार्यालय परिसरमै राख्न उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिइएको थियो। तर भदौ २४ गते आन्दोलन झन् हिंसात्मक बनेपछि सिंहदरबार भित्र र बाहिरका सरकारी कार्यालयमा तोडफोड, लुटपाट र आगजनीसमेत भयो। त्यस क्रममा थुप्रै चारपांग्रे र दुईपांग्रे सवारीसाधन जलेका थिए।
हाल पनि सरकारी कार्यालय परिसरमा कालोसोतो भएका गाडीहरूको थुप्रो देख्न सकिन्छ। अधिकारीहरूले भने आगजनीबाट भएको कुल आर्थिक क्षतिको मूल्यांकन अझै गर्न बाँकी रहेको जनाएका छन्।
Super Admin
>