ताजा खबर
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जेनजी आन्दोलनको क्रममा लैनचौरस्थित आफ्नो मुख्य कार्यालय ‘एनसेल आइकन’ मा भएको तोडफोड, आगजनी र डकैतीबारे जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेको छ।
२४ भदौमा भएको प्रदर्शनका अवसरमा विभिन्न समूहले मौका छोपी कार्यालयमा प्रवेश गरी व्यापक तोडफोड, आगजनी र लुटपाट गरेको भन्दै कम्पनीले सोमबार दर्ता गरेको उजुरीमा घटना संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, लुटिएका सम्पत्ति फिर्ता दिलाउन र क्षतिपूर्ति दिलाउन माग गरिएको छ।
उजुरीअनुसार सुरक्षाकर्मीलाई धम्क्याएर नियन्त्रणमा राखी भवनका सबै तलामा तोडफोड गरिएको, रिसेप्सनदेखि ग्राहक सेवा केन्द्रसम्मका उपकरण नष्ट पारिएको, प्रमाणपत्र, जग्गाधनी कागजात, नगद तथा सेफहरू लुटिएको र कर्मचारीका व्यक्तिगत सामानसमेत डकैती गरिएको छ। कम्पनीले आफ्नै र भाडामा लिएका महँगा गाडीहरू समेत भवनभित्र र बाहिर जलाइदिएको विवरण दिएको छ।
एनसेलले क्षतिको मूल्यांकन भइरहेको र प्रारम्भिक विवरण, लुटिएका सम्पत्ति सूची तथा सीसीटीभी फुटेज प्रहरीले उपलब्ध गराएको जनाएको छ। घटनाबाट कार्यालयका १० वटै तलामा रहेका विद्युतीय तथा कार्यालय उपकरण, गाडी र अन्य सम्पत्तिमा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको कम्पनीको दाबी छ।
Super Admin
>