ताजा खबर
काठमाडौं, आदिदेव सूर्यको आराधना गरी मनाइने महापर्व छठको दोस्रो दिन आज ‘खरना’ विधि सम्पन्न हुँदैछ। आज दिनभर उपवास बसेका ब्रतालुहरूले साँझपख चामल, दूध र सक्खर मिसाएर पकाइने खीरलाई प्रसादका रूपमा ग्रहण गर्छन्। यसलाई खरनाको मुख्य विधि मानिन्छ। यो प्रसाद घरका सबै सदस्यले सँगै ग्रहण गर्ने परम्परा छ, र पर्व नहुने घरमा वितरण गर्ने चलन पनि प्रचलित छ।
चार दिनसम्म चल्ने यो पर्व सन्तान तथा पारिवारिक सुख–समृद्धिको कामना गर्दै अत्यन्त निष्ठाका साथ मनाइन्छ। हिजो शनिबार ‘नहाय–खाय’ विधिबाट छठ पर्वको प्रारम्भ भएको थियो। सो दिन ब्रतालुहरूले स्नान गरी चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन्।
भोलि सोमबार छठको तेस्रो र मुख्य दिन सौझकारक अर्थात् सन्ध्याकालीन अर्घ्य मनाइनेछ। यस दिन ब्रतालुहरू नजिकैको नदी, तलाउ वा जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।
छठ पर्वका क्रममा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार र हाँडीलगायतका सामग्री प्रयोग गरिन्छ। प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, मिठाई र विभिन्न फलफूल अर्पण गरिन्छ। ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा रहिआएको छ। प्रत्येक विधि र परिकार पूर्ण शुद्धता र निष्ठाका साथ तयार पारिनुपर्ने भएकाले छठ पर्वलाई अत्यन्त पवित्र र कठोर पर्वका रूपमा सम्मान गरिन्छ।
Super Admin
>