ताजा खबर
चितवन — चितवनमा पछिल्लो एक वर्षमा सडक दुर्घटनाको संख्या अति तीव्र गतिमा बढेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, गत आर्थिक वर्षमा मात्र १,०५० सवारी दुर्घटना भएका छन्, जसमा १२० जनाले ज्यान गुमाएका छन्। गम्भीर घाइतेको संख्या १७२ र सामान्य घाइते १,७०५ पुगेका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा दोब्बरभन्दा बढी हो। त्यसबेला जम्मा ४४५ दुर्घटना हुँदा ११५ जनाको मृत्यु भएको थियो। यतिमात्र होइन, पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा वर्षेनी दुर्घटनाको ग्राफ उकालो लागिरहेको छ।
सबैभन्दा बढी दुर्घटना पुस र चैत महिनामा भएका छन्, जहाँ क्रमशः १४१ र १३४ घटनाहरू दर्ता भएका छन्। ट्राफिक प्रहरीका अनुसार, दुर्घटनामा तीव्र गतिमा सवारी चलाउनु, मापसे, हेल्मेट नलगाउनुजस्ता लापरवाहीपूर्ण व्यवहार मुख्य कारण हुन्।
ट्राफिक प्रमुख गायत्रीराज शर्माका अनुसार, भित्रि सडकहरूमा दुर्घटनाको संख्या राजमार्गभन्दा पनि बढी छ। गत वर्ष भित्रि सडकहरूमा मात्रै ५७७ दुर्घटना हुँदा ४१ जनाले ज्यान गुमाएका छन्। यसै अवधिमा पूर्व–पश्चिम राजमार्गमा २५५ दुर्घटनामा ४४ जनाको, नारायणगढ–मुग्लिन सडकखण्डमा १०४ दुर्घटनामा २८ जनाको, र शहरी सडकहरूमा ८६ दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
उक्त दुर्घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन्। मृतकमध्ये ९६ जना पुरुष, २१ जना महिला र ३ जना बालबालिका छन्।
विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यदि ट्राफिक सचेतना, सवारी प्रशिक्षण र कानुनी कार्यान्वयन कडा गरिएन भने चितवन जस्तो व्यस्त जिल्ला ‘दुर्घटना हब’ बन्ने खतरा बढिरहेको छ।
Super Admin
>