ताजा खबर
काठमाडौं – राजधानीको बौद्धस्थित बाहुनाधारामा गत साउन १२ गते भएको खुकुरी आक्रमणमा संलग्न तीन जनालाई भारतको दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटना साउन १२ गते राति करिब ९ बजे नयाँबस्तीस्थित ‘डी क्याफे’मा भएको थियो। खाजा खाएर बाहिर निस्कने क्रममा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि चार जनाको समूहले अन्धाधुन्ध खुकुरी प्रहार गरेको थियो। मोक्तानको हात, ढाड र पेटमा प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए।
घटनापछि आक्रमणकारी फरार भएका थिए। लामो अनुसन्धानपछि प्रहरी टोलीले दिल्लीमा उनीहरूको अत्तोपत्तो फेला पारेर पक्राउ गरेको बताइएको छ। पक्राउ परेकामध्ये तीन जनालाई नेपाल ल्याइएको र चौथो व्यक्तिको खोजी जारी रहेको स्रोतले जनाएको छ।
पीडित मोक्तान काभ्रेको रोशी गाउँपालिका–१० का हुन्। हाल उनी उपचारपछि सामान्य स्वास्थ्य अवस्थामा पुगेका छन्।
यस घटनाले काठमाडौं उपत्यकामा बढ्दो समूहगत अपराध र आक्रमण प्रवृत्तिले गम्भीर प्रश्न उठाएको छ। प्रहरीका अनुसार, पक्राउ परेका अभियुक्तहरूमाथि थप अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अघि बढाइनेछ।
Super Admin
>