ताजा खबर
३१ भदौ, काभ्रेपलाञ्चोक । यस वर्षको मनसुन सुरु भएयता राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग असोज १ गतेदेखि २४ घण्टा सञ्चालनमा आउने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्यतिर पुग्न थालेको र दसैं–तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। समितिले यात्रुको सहजतालाई ध्यानमा राख्दै स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार आवश्यक सतर्कता अपनाएर यो निर्णय लिइएको जनाएको छ।
गत असारको पहिलो सातादेखि बाढीपहिरोको उच्च जोखिमका कारण धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्म राति १२ घण्टासम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रातिको रोक निरन्तर गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका विभिन्न स्थानमा जोखिम रहेका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। यस अवधिमा काठमाडाैँबाट जाने सवारीलाई काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउनेलाई नेपालथोकमा रोकिने व्यवस्था गरिएको थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रुपमा यातायात सञ्चालन गरिएको थियो। कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोट–नेपालथोक खण्डका ३४ किमी र नेपालथोक–धुलिखेल खण्डका ५० किमी क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको थियो। अहिले क्षतिग्रस्त खण्डलाई स्थायी रूपमा पुनर्निर्माण गर्ने गरी चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
पूर्वी नेपाललाई छोटो दूरीमा काठमाडौंसँग जोड्ने यो राजमार्ग हुँदै दैनिक हजारौं सवारीसाधन चल्ने भएकाले असोज १ गतेदेखि हुने २४ घण्टा सञ्चालन यात्रु र व्यवसायी दुवैका लागि सहज हुने अपेक्षा गरिएको छ।
Super Admin
>